Source
kantipur.ekantipur.com
मंसिर १९, २०७२
नेपालगन्ज

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मधेस आन्दोलन र नाकाबन्दीका कारण दैनिक २ अर्ब नोक्सान भईरहेकाले संवादबाट समस्या समाधान गर्न आन्दोलनरत पार्टीहरुलाई आग्रह गरेका छन् ।
उनले बन्द-हडतालबाट डेढ लाखभन्दा धेरै उद्योग बन्द भएको पनि बताए ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ कलकता बन्दरगाह र नाकामा रोकिएको महिनौ भईसकेको उल्लेख गर्दै मन्त्री पाण्डेले भने,-'मधेस आन्दोलन र अघोषित नाकाबन्दीले सबैभन्दा धेरै उद्योग व्यवसायको क्षेत्र तहसनहस भएको छ ।' सरकारले छिटो समस्या समाधान गरेर राहत दिन चाहेको पनि उनले बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको २४ औ साधारणसभाको उदघाटन गर्दै मन्त्री पाण्डेले अहिलेकै अवस्था अझै लम्बिए मुलुकको अर्थतन्त्र ऋणात्मक हुने अवस्था आएको पनि बताए । नयाँ संविधान संसारका रुस र स्वीजरल्याण्डको बाहेक अरु मुलुकका भन्दा उत्कृष्ट रहेको दाबी गर्दै उनले भने,- अब राजनीतिक आन्दोलन आवश्यक छैन । अब आर्थिक क्रान्तिका लाग्ने बेला हो ।'

उद्योगी व्यवसायीले दुरगामी औधोगिक नीति ल्याउन माग गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल शर्माले भने,-'अहिलेकै अवस्था लम्बिने हो भने व्यवसायीले आत्महत्या गर्ने अवस्था आउने छ ।'

.